मुख्य घटनाक्रमको समयरेखा

२०७५ साउन १० गते

निर्मला पन्त बिहान ११ बजेतिर साथी रोशनी बमको घर पढ्न गइन्। आमा दुर्गादेवी पन्तले प्रहरीलाई छोरी हराएको जानकारी दिइन्। प्रहरीले अबेर राति भयो भन्दै भोलि खोजौँला भन्दै टार्‍यो।

२०७५ साउन ११

निर्मलाको शव रोशनीको घरभन्दा ५०० मिटर टाढा रहेको उखुबारीमा भेटियो। पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या गरिएको पुष्टि भयो।

२०७५ साउन १२

हत्याको विरोधमा महेन्द्रनगरमा उग्र प्रदर्शन। वास्तविक हत्यारा पत्ता लगाउन माग। धेरै प्रदर्शनकारी घाइते।

२०७५ साउन १४

निर्मला पन्तको शव उठाउन दबाब। सीमित उपस्थितिमा महाकाली आर्यघाटमा अन्त्येष्टि।

२०७५ भदौ ४

दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रूपमा प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्‍यो।

२०७५ भदौ ५–९

विष्ट हत्यारा होइन भन्दै चर्को प्रदर्शन। प्रमुख जिल्ला अधिकारीलगायतको राजीनामाको माग। गृह मन्त्रालयद्वारा सीडीओ र एसपी फिर्ता। हरिप्रसाद मैनाली संयोजकमा समिति। गोली चल्दा सन्नी खुनाको मृत्यु। रोशनी र बबिता बम पक्राउ। मन्त्रिपरिषद्ले पीडित परिवारलाई राहत दिने निर्णय। एसपी विष्ट निलम्बन।

२०७५ भदौ १०– १४

महेन्द्रनगरमा कर्फ्यु आदेश जारी। काठमाडौँको माइतीघरमा प्रदर्शन।

२०७५ भदौ १४

एसएसपी उत्तमराज सुवेदी संयोजकमा ५ सदस्यीय छानबिन समिति गठन।

२०७५ भदौ २५–२९

मैनाली समिति सदस्य केसीद्वारा राजीनामा। विष्ट र बम दिदीबहिनी धरौटीमा रिहा। कालो तीज, काठमाडौँमा दीप प्रज्वलन। कांग्रेसद्वारा संसद् अवरुद्ध। गृहमन्त्रीद्वारा दोषी सार्वजनिक गर्ने प्रतिबद्धता। सांसदद्वारा आलोचना।

२०७५ भदौ ३१

सुवेदीको समिति अपग्रेड, एआईजी धीरु बस्न्यात संयोजकमा ९ सदस्यीय समिति। गृह मन्त्रालयले अनुसन्धानमा लापरबाही गरेको भन्दै पाँच प्रहरी अधिकृतलाई निलम्बन गर्‍यो, जसमा दुई जना डिएसपी पनि थिए।

२०७५ मंसिर

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निर्मलाका छिमेकीलाई पक्राउ गरेर सोधपुछ गर्‍यो। डीएनए नमिलेकाले उनीहरूलाई छोडियो।

२०७५ फागुन

निर्मलाकी आमाले आठ प्रहरीविरुद्ध मुद्दा दायर गरिन्— प्रमाण नष्ट गरेको, यातना दिएको आरोपमा। केही प्रहरी थुनामा परे तर पछि धरौटीमा छुटे।

२०७६ भदौ २६

डीएनएको वैधता जाँच गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक जीवन रिजालको संयोजकत्वमा तीन सदस्यीय प्राविधिक समिति गठन

२०७६ कात्तिक ५

समितिको प्रतिवेदनमा डीएनए संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको औँल्याउँदै डीएनए बाहेकलाई पनि आधार मानेर अनुसन्धान गर्नुपर्ने सुझाव

२०७६ मंसिर ३

पत्रकार खेम भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतद्वारा एक रुपैयाँ जरिबाना र एक घण्टा कैदको ‘तुच्छ सजाय’।

२०७७ साउन

कञ्चनपुर जिल्ला अदालतले अनुसन्धानमा लापरबाही गरेको आरोपमा परेका सबै आठ प्रहरीलाई सफाइ दियो। पूर्वएसपी दिल्लीराज विष्ट पुनः सेवामा बहाल भए।

२०८१ साउन १०

६ वर्षको अवधिमा ६५५ जनासँग सोधपुछ, ५०० मोबाइलको प्राविधिक विश्लेषण, १२६ जनाको डीएनए परीक्षण, झन्डै ३३ लाख रुपैयाँ खर्च भएको प्रहरीद्वारा जानकारी।

२०८२ जेठ १

पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद र एक हजार रुपैयाँ जरिबाना र एक लाख रुपैयाँ क्षतिपूर्ति

समिति नै समिति
निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा अहिलेसम्म ६ वटा औपचारिक समिति गठन भएका छन्। ती समितिको समयक्रम र नेतृत्व यस प्रकार छन्:

२०७५ भदौ ७

नेतृत्व: हरिप्रसाद मैनाली (कारागार विभागका तत्कालीन महानिर्देशक)
विशेषता: निजामती कर्मचारीको संयोजकत्वमा बनाइएको।
आलोचना: अनुसन्धानमा अनुभव नभएकाले घटना गिजोलिएको आरोप।

२०७५ भदौ १४

नेतृत्व: तत्कालीन एसएसपी उत्तमराज सुवेदी
विशेषता: पहिलो प्रहरी नेतृत्वको समिति।
काम: प्रारम्भिक अनुसन्धान।

२०७५ भदौ ३१

नेतृत्व: एआईजी धीरु बस्न्यात
विशेषता: सुवेदीको समितिलाई अपग्रेड गरिएको।
काम: प्रहरीलाई कारबाही सिफारिस मात्र, यथार्थमा पुग्न असफल।

२०७५ कात्तिक २७

नेतृत्व: राष्ट्रिय मानव अधिकार आयोग
विशेषता: स्वतन्त्र मानवअधिकार निकायद्वारा अनुसन्धान।
काम: अधिकार हननको दृष्टिकोणबाट छानबिन।

२०७६ भदौ २६

नेतृत्व: डीएनए विज्ञ डा. जीवन रिजाल
विशेषता: वैज्ञानिक आधारमा छानबिन।
सुझाव: केवल डीएनएमा निर्भर नगर्नु, अन्य प्रमाणको आधारमा पनि मुद्दा चलाउन सकिने।

२०७६ माघ ११

नेतृत्व: तत्कालीन डीआईजी सुरज केसी
विशेषता: एआईजी बस्न्यातको प्रतिवेदनको पुनरावलोकन समिति।
काम: त्रुटिपूर्ण प्रतिवेदन खारेज। केही कारबाही भोगेका प्रहरी राहतमा परे।

२०७९ पुस १५ (७औँ प्रयास निष्क्रिय)

नेतृत्व: डीआईजी दुर्गा सिंह
गृहमन्त्री रवि लामिछाने (पहिलो कार्यकालमा गठन)
विशेषता: न्यायिक समिति बनाउने निर्णय।
लामिछाने एक महिनामै पदमुक्त भएपछि समिति निष्क्रिय भयो।